Awaaz Express

धरानको भाटभटेनीमा चार वटा मानव कङ्काल फेला

धरानको भाटभटेनीमा चार वटा मानव कङ्काल फेला
जेन-जी पुस्ताले सोमबार धरानमा शान्तिपूर्ण आन्दोलन गरेता पनि मंगलबार भने हिंसात्मक गर्ने क्रममा थुप्रै स्थानमा आगजनी गर्दा भाटभटेनीमा पनि आगजनी गरेका थिए । शुक्रबार बिहान आगो नियन्त्रणमा लिने क्रममा प्रहरी लगायतको स्थानीयले बिहान एउटा र दिउँसो अरू थप तीन वटा कङ्काल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो ।

यसैबिच, धरानमा जेन-जीको आन्दोलनमा हिंसा भड्काउने र आगजनी गर्नेमा मिलन वान्तवा राईले स्वीकार गरेका छन् । उनले धरान वडा नं. २ को कार्यालय, पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व मेयर मनोज मेयाङ्वो, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेसका नेता सुजेन्द्र गोलेको घरमा गएर आगजनी तथा तोडफोड गरेको स्वीकार गरेका छन् । उनले भाटभटेनीमा भने नगएको जिकिर गरेका छन् ।

उनले तोडफोड र आगजनी गर्ने कार्यमा आफूm मात्र संलग्न नभई अरू थुप्रै केटाहरू भएको सामाजिक सञ्जालमा भिडियोमार्फत सार्वजनिक गरेका छन् । उनले घटनाको छानबिन हुनुपर्ने र आफ्नो समूहले गरेको गल्ती जिम्मा लिने बताएका छन् । उनले धरान क्षेत्रमा भएको सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति क्षति गर्दा कसरी भएको भन्ने बारे समूहमा अरू साथीहरूसहित सबै फेहरिस्त बताउने पनि भिडियोमार्फत भनेका छन्। उनले भनेका छन्, ‘अहिले सवैतिर बाट मेरो मात्र नाम आइरहेको छ, एक्लै सम्भव हुने कुरो भएन, अरू पनि केटाहरू छन् ।’

मिलनले नेतृत्व गरेको आन्दोलनमा नेपाली काँग्रेसका नेता उमेश थापा, पूर्व मेयर मनोज मेयाङ्वो, मेयाङ्वोको होटेल कञ्चनजंघा, पूर्व उपमेयर मञ्जु भण्डारी, कार्यपालिका सदस्य सिर्जना नेपाल, काँग्रेस नेता सुजेन्द्र गोले, पूर्व सांसद जयकुमार राई र भाटभटेनीमा आगजनी तथा तोडफोड गरेको पीडितहरूले बताएका छन् । मुख्य रूपमा मिलन र कान्छी भन्ने दिपचन्द्र राईको अगुवाइमा धरान क्षेत्रमा व्यक्तिगत सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *