गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् । उनले अब राजनीतिक प्रभावमा रोकिएका सबै मुद्दा ब्रेक थ्रु हुने दाबी पनि गरे । निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई निर्देशन दिँदै भने, ‘तपाईंले विगतमा जे देख्नुभएको थियो, राजनीतिक कनेक्सनका आधारमा जे कुराहरू रोकिएका थिए, जे कुराहरू बिथोलिएका थिए अब त्यस्तो हुँदैन । यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासन नभएसम्म शान्ति सुरक्षा हुँदैन । त्यहीअनुसार काम गर्नुहोला ।’प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसमेतलाई अगाडि राखेर गृहमन्त्री अर्यालले सीआईबी प्रमुखलाई अब कुनै पनि प्रभावमा अनुसन्धान नरोक्न पनि निर्देशन दिए ।



